लकडाउनमा सुनसान काठमाडौं, आदेशको कार्यान्वयन नगरे कारवाही हुने

काठमाण्डौ, चैत्र ११ गते (तेजनेपाल) । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश जिल्लाका सडकहरु सुनसान छन् । मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । तर, बिहानपख केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केहीबेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ । काठमाडौंका शहिदगेट, न्यूरोड, थापाथली, सिनांमगल लगायतका स्थानमा मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ । उनीहरुले सम्झाइबुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको दृष्य नयाँबानेश्वर चोकमा देखियो । यती गर्दा पनि क्सैले आदेशको कार्यान्वयन नगरे कारवाही हुने कुरा सर्वसाधारणलाई जानकारी दिईएको छ ।

सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । प्रहरीहरुले पास भए-नभएको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् । चितवन प्रहरीले त लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ नै गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहान ६ बजेदेखि चैत १८ गतेसम्मलाई सरकारले देशभर लक डाउन गरेको छ। तर लकडाउनको प्रवाह नगरी मानिसहरु सडकमा निस्किन थालेपछि प्रहरीले धरपकड थालेको हो। मानिसहरु रमिता हेर्न भन्दै सडकमा निस्किरहेका छन्। प्रहरीले केहीलाई सम्झाइरहेको छ। तर अटेरी गर्नेलाई हिरातमा लिएको हो। लकडाउनका क्रममा देशभर सडक र बजार बन्द छन्। सडकमा उत्रिएका प्रहरीको आँखा छलेर मानिसहरु सडकमा निस्किरहेका छन् ।

के छ व्यवस्था सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ। सोमबार भएका निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ। त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, ८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *