चट्याङ लागेर देशका विभिन्न भागमा ६ जनाको मृत्यु, २ घाइते

काठमाण्डौँ, असार ११ तेजनेपाल
देशका विभिन्न भागमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ।

सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ। अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ।

सप्तरीमा चारको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा पनि चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिनुभयो ।

यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको आज नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो।

राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन्।

उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *