नेपालकै पहिलो फिल्म मेकअप स्टुडियो ट्रेनिङ सेन्टरको उद्घाटन
काठमाण्डौं, १६ असोज । तेजनेपाल
नेपाली चलचित्र क्षेत्रमा मेकअप आर्टिस्टका रुपमा राम्रो ख्याति प्राप्त गरेको तथा लगभग तीन दशकको यात्रा पुरा गरिसक्नु भएका बरिष्ठ चर्चित मेकअप आर्टिष्टव्दय सन्तु तमाङ र श्याम बरालको संयुक्त प्रयासमा खोलिएको नेपालकै पहिलो फिल्म मेकअप स्टुडियोको उद्घाटन भएको छ ।
नायिका कारिश्मा मानन्धर र अभिनेता सुनिल थापाको प्रमुख आतिथ्यमा रिबन काटेर सो उद्घाटन समारोह सम्पन्न भएको थियो । समारोहमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, वरिष्ठ चरित्र अभिनेता सुबाश गजुरेल, वरिष्ठ हास्य कलाकार उत्तम के सी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठ, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
लगभग ६ महिना देखिको कोरोनाको विषम परिस्थितीका बाबजुत पनि ठुलो जोखिम उठाएर आफुहरुले यो कार्यको सुरुवात गरेको र पेट पाल्नकै लागि पनि काम गर्नैपर्ने अवस्था भएका कारण यो व्यवसायको सुरुवात गरेको कुरा मेकअप स्टुडियोका संस्थापक मध्यका एक श्याम बरालले तेजनेपालाई बताउनु भयो । साथै सोही स्टुडियोका अर्का संस्थापक सन्तु तमाङले पनि आफ्नो मेकअप स्टुडियो, पार्लर तथा सैलुनले यस् उद्घाटन भएको दिनदेखिको एक हप्तासम्म हरेक सेवा सुविधामा ५० प्रतिसतसम्म छुट दिने र आफ्नो ग्राहकको इच्छा र चाहनालाई मध्यनजर राख्दै हाइजेनिक सेवा दिने र स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
भविष्यमा अझै सर्वसुलभ तरिकाले अरु सेवाको विस्तार गर्दै जाने र विभिन्न किसिमका मेकअप ट्रेनिङ दिदै दक्ष जनशक्ती उत्पादनमा विशेष टेवा पुर्याउने कुरा सोही स्टुडियोकी ट्रेनर तथा जुनियर मेकअप आर्टिष्ट प्रिज्मा श्रेष्ठले बतार्इन ।
PC: Dinesh Shrestha