ब्रोइलार कुखुराको मासु तीन वर्षयताकै सबैभन्दा सस्तो

काठमाण्डौँ, असोज २६ | तेजनेपाल

ब्रोइलार कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको छ ।

एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन,’ संघका प्रथम उपध्यक्षले बताए ।

‘यो साताको लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकिएको छ’, उनले बताए ।

साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् ।

मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए ।

खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको मासु व्यवसायी बताउँछन् ।

चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएको तर बजारको खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको व्यवसायीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *