चैतबाट “देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता”

काठमाण्डौँ, फाल्गुन ४ | तेजनेपाल

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारा सहित चैतको दोस्रो साताबाट शुरु हुनेगरी “देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता”को पहिलो संस्करण आयोजना हुने भएको छ ।

स्पिन इभेन्ट्स प्रा.लि. आयोजक रहेको उक्त कार्यक्रमको काठमाण्डौमा आज फाल्गुन ४ गते मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २ देखि ७ गतेसम्म आयोजना हुने जनाएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक पक्षले जनाएको छ ।

प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तर, वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

प्रतियोगिताको मेन्स/वुमेन्स सिंगल्स स्पर्धाको प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । यस्तै भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने छन् । त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार र रनिङ्ग शिल्ड प्रदान गरिनेछ ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैया रहेको छ । जसमा आधा रकम मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि.ले व्यहोर्ने छ । स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र भ्याली कन्स्ट्रक्सनका एमडी रविन्द्र महर्जनले प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार भ्याली कन्स्ट्रक्सनले आयोजकले ९ लाख ७५ हजार उपलब्ध गराउने छ । यस्तै प्रतियोगिताको उप-प्रायोजकमा पूर्ण शंकर श्रेष्ठ, सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. र बाबुरत्न कन्स्ट्रक्सन प्रा.लि. रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *