अभिनेता मदनकृष्णलाई डाक्टरले दिए नौ निर्देशन

काठमाण्डौ, जेष्ठ २६ । तेजनेपाल

नेपाली चलचित्र रंगमञ्चका महान हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् ।

गत शुक्रबार राती छाती दुखेपछि मध्यरातमै अस्पताल पुर्याइएका मदनकृष्ण बुधबार डिस्चार्ज भएका हुन् । डिस्चार्जअघि उनलाई चिकित्सकले नौवटा निर्देशन दिएका छन् ।

उनका छोरा यमनले फेसबुकमार्फत बुवा मदनकृष्ण डिस्चार्ज भएको जानकारी दिँदै बुवालाई नौवटा निर्देशनसहित चार हप्ता रेष्ट गर्न भनेको उल्लेख गरेका छन् ।

‘केही हप्ता नो फेसबुक, नो सोसियल मिडिया, नो टु मच न्यूज, नो टु मच मोबाइल, नो टु मच फोन कन्भरसेसन, नो जुम, नो आउटिङ, नो फिल्म सुटिङ र नो प्रोग्राम है भनेर डाक्टरहरुले कडा निर्देशन दिनुभएको छ । जुन बुवालाई असाध्यै मनपर्ने कुराहरुमा पर्छन्’, यमनले लेखेका छन् ।

उनले अस्पतालमा डाक्टरहरुको अगाडि ‘हस’ भन्दै टाउको हल्लाएर आएको जनाएका छन् । यमनका अनुसार गंगालाल अस्पतालका विशेषज्ञ डाक्टरहरुको टिमले शनिबार नै एन्जिओप्लास्टी मेडिकल प्रक्रियाद्वारा दुइवटा स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध हटाइएको थियो ।

केही समय अघि मदनकृष्णको परिवारलाई नै कोभिड संक्रमण भएको थियो । अहिले उनीहरु संक्रमण मुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *