निशाको उपचार नर्भिक अस्पतालले निशुल्क हुने

काठमाण्डौ, जेष्ठ २७ । तेजनेपाल
ललितपुर जिल्लामा जन्मिएकी निशा घिमिरे एक कुशल कलाकार हुन । निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । उनले नेपाल टेलिभिजनबाट प्रसारणमा आएको टेलिसिरियल ‘डियर जिन्दगी’मा पनि काम गरिसकेकी छिन भने दुई दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।

२०७६ सालमा अभिनय कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते बनेकी निशालाई दुर्घटना लगत्तै भारतकै अस्पतालमा उपचार गरियो तर, त्यहाँ उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका कारण उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याए ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखी ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगातार थेरापी गरियो ।

नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी अर्धचेत अवस्थामा घरमै थिइन् । उनको शरीर सुकेर जिर्ण बन्दै गएको छ ।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् ।

हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा उनी छैनन । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।

नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *